एक करोड बढीको सुनचाँदी र नगदसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर २३, आईतवार ०८:५१

काठमाडौं । कैलालीमा एक करोडभन्दा बढीको सुनचाँदी र नगदसहित प्रहरीले शनिबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।

भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट एक करोड बराबरको सामानसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका –१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी ) पगियापसारले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित बरामद भएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।