रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ मंसिर २०, बिहीबार ०९:५०

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी इनरूवा नगरपालिका–६ मधेषा ठेगाना भएका २९ वर्षीय सन्जिव चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सोल्टिमोडबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सन्जिवले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।