वडाध्यक्षको निधनमा आज शोक विदा

तु खबर संवाददाता
२०८१ मंसिर १६, आईतवार १०:०४

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिकामा आज शोक विदा दिइएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको निधनमा आज गाउँपालिकाभर सार्वजनिक विदा दिइएको हो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीले आज आइतबार वडाध्यक्ष बस्नेतको निधनमा सार्वजनिक विदा दिएको बताए ।

उनका अनुसार, यस दिन गाउँपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरु, शैक्षिक संस्थाहरुमा समेत शोक विदा दिने निर्णय भएको छ ।

कार्यालयहरुबाट अत्यावश्यक सेवा प्रवाह भने हुने उनले बताए ।

यही मंसिर १४ गते काठमाडौंबाट गोकुलगंगा गाउँपालिका (बेताली) जाने क्रममा सिमखोलामा ना १ ज ७१२३ नम्बरको टाटा सुमो दुर्घटना हुँदा उनको मृत्यु भएको थियो । सो दुर्घटनामा परेर अन्य चार जनाको पनि मृत्यु भएको थियो ।