मकवानपुरमा बिहानै यात्रुबाहक बस दुर्घटना, ३५ जना घाइते

तु खबर संवाददाता
२०८१ कार्तिक २१, बुधबार ०८:४४
तस्बिरः जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त ।

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७, समिडाँडामा आज बिहानै यात्रुबहाक बस दुर्घटना भएको छ ।

बिहान साढे ४ बजेको समयमा काठमाडौबाट महोत्तरीको लागि छुटेको प्रदेश २–०३–००१ ख ३६२९ नं. को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साईडमा पल्टी दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, सो दुर्घटनामा परेर ३५ जना घाइते भएका छन् । घाइतेमध्ये पुरानो मेडिकल कलेज भरतपुर चितवनमा २८ जना र मनहरी अस्पताल मकवानपुरमा ३ जनाको उपचार भइरहेको छ ।

घाइते ४ जनाको भने हेटौंडा अस्पतालमा उपचारपश्चात डिस्चार्ज गरिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।