साफ वुमन्स च्याम्पियनसिपः फाइनल खेलको टिकट एन्फा आफैले बिक्री गर्ने

तु खबर संवाददाता
२०८१ कार्तिक १३,मंगलवार १७:५०
file-photo

काठमाडौं । कात्तिक १४ गते बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफैले बिक्री गर्ने भएको छ ।

घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि एन्फा आफैले टिकट बिक्री गर्न लागेको एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए ।

उनका अनुसार, यसअघि आइतबार भएको नेपाल र भारतबीचको खेलमा क्षमताभन्दा बढी दर्शकलाई टिकट बिक्रीमा रोक लगाएर आफैले बिक्री गर्न लागेको हो ।

बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको उनले बताए । यस्तै, एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट पनि टिकट बिक्री गरिने उनले बताए ।

उनले ११ हजार टिकटमात्र टिकट बिक्री गरिने भन्दै साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने बताए ।

प्रतियोगिता दशरथ रंगशालामा हुनेछ । त्यहाँ प्यारापिट १५ हजार क्षमताको छ । साथै यसअघि फाइनल खेल हेर्न अनलाइन टिकट खरिद गरेकाहरुको रकम फिर्ता गरिने उनले बताए ।

टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकिएको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउने उनले बताए ।

साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत सबैलाई आग्रह गरेको छ ।