लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८१ आश्विन २३, बुधबार १०:०१

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी, पर्सा र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सप्तरीको कंचनरूप नगरपालिका–७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा भगवानपुर गाउँपालिका–१ बस्ने ३६ वर्षीय चन्देश्वर चौधरी र सोही गाउँपालिका–२ बस्ने ५६ वर्षीय राम दुलार यादव रहेका छन् ।

प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले उदयपुरबाट कंचनपुरतर्फ आउँदै गरेको बिआर ०७ बिए ४५७८ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक चन्देश्वर र गाडीमा सवार राम दुलारलाई पक्राउ गरेको हो ।

यस्तै, पर्साको बिन्दबासिनी गाउँपालिका–२ झौवाबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित सखुवाप्रसौनी गाउँपालिका–५ बलुवा बस्ने ३० वर्षीय मोहिचन प्रसाद यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्ठाबाट खटिएको प्रहरीले सखुवाप्रसौनीबाट झौवातर्फ साइकलमा जाँदै गरेका उनलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८० क्यापसुलसहित कास्की माछापुच्छ्रे गाउँपालिका–४ घर बताउने २४ वर्षीय सुदिप जिसिलाई मंगलबार बिहान पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५७८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।