चुच्चेखोला सामुदायिक वनको वार्षिक साधारणसभा

तु खबर संवाददाता
२०८१ आश्विन २१, सोमबार १२:१७

मकवानपुर । हेटौंडा ६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं वार्षिक साधारणसभा गएको विहिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले सामुदायिक वनले नेपालको नाम विश्वभर फैलाएकोमा खुशी व्यक्त गरेका छन् ।

समूहले सालकको संरक्षण गरेर उदाहरणीय काम गरेको बताउँदै यसैको माध्यमबाट पर्यटक भित्र्याउन सकिनेमा उनले जोड दिए । वन व्यवस्थापन गरी वनको उत्पादकत्व बढाउन समूहले काम गर्नुपर्ने उनले बताए ।

मन्त्री सिलवालले सामुदायिक वनमा रहेको कतिपय ऐन कानून उपयुक्त नभएको देखिएको बताउँदै त्यस्ता ऐन कानुन परिमार्जन गर्न आफू सदैव तयार रहेको बताए ।

साधारणसभामा समूहका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कमला दाहालले आर्थिक वर्ष ०८१÷०८२ को लागि १ करोड ७८ लाखको अनुमानित आयव्यव विवरण र लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा ज्येष्ठ उपभोक्ता, वन डढेलो नियन्त्रण, सालक संरक्षण तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

ज्येष्ठ उपभोक्ता हर्कबहादुर दोङ, विष्णुप्रसाद पुडासैनी, जगनाथ देवकोटा, महकुमारी तिमल्सिना ,पूर्णबहादुर स्याङ्तान, गोविन्दबहादुर प्रजापति, वन डढेलोतर्फ गोपी भण्डारी, दुर्गाप्रसाद घिमिरे, मनिष न्यौपाने, नवराज सञ्जेल, उत्कृष्ट विद्यार्थी संजिता नेपाल, बन्दना गौतम, विधान पाख्रिन, सरस्वती अर्याल, निजर्रा रसम्बा र दिलिप ढकाललाई पुरस्कृत गरिएको थियो । यसैगरी सालक संरक्षण तर्फ विजय राई, प्रल्हाद चौलागाईँ, आईतीमाया डिमडुङ, सन्तोष श्रेष्ठ र हर्कबहादुर गोलेलाई समेत पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा १७ का वडा अध्यक्ष उद्धज सत्याल, मकवानपुरगढी २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन, वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुली, डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतम, हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडा सदस्य विदुर हुमागाई, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चालागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, समूहका पूर्व अध्यक्ष हरिप्रसाद अधिकारी , अर्जुनप्रसाद दाहाल, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, अशोक सामुदायिक वनका अध्यक्ष रमेशकुमार राई, न्यूरेनी चिसापानी सामुदायिक वनका अध्यक्ष प्रकाश कार्की, कामधेनु बहुउद्देश्यीय सहकारी अध्यक्ष उदय विडारी, समूह उपाध्यक्ष उमेश अधिकारी लगायतको आतिथ्यता थियो ।

२ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा करिव १ हजार १ सय ७० घरधुरी आवद्ध रहेको कार्यालय सचिव केदार गौतमले बताए ।