सिमखोलाको डाइभर्सन भासियो, बिहानैदेखि यातायात अवरुद्ध
मकवानपुर । आइतबार साँझबाट पुनः संचालनमा आएको हेटौंडाबाट काठमाडौं जोड्ने तीन वटा छोटो मार्ग हाल अवरुद्ध बनेको छ ।
छोटो दुरीको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमाने भञ्ज्याङ–फर्पिङ–काठमाडौं र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा सडक आज बिहानैबाट अवरुद्ध बनेको हो ।
असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोका कारण अवरुद्ध तीनै वटा सडक ९ दिनपछि आइतबार साँझ संचालनमा ल्याएको थियो ।
तर, इन्द्रसरोवरको सिमखोलास्थित बनाएको डाइभर्सनको केही भाग भासिएपछि आज बिहानैदेखि उक्त सडक हुँदै संचालन हुने यातायात अवरुद्ध बनेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।
उनका अनुसार, उक्त स्थानमा भासिएको डाइभर्सनको मर्मत गरी आज अपराह्नबाट सो सडक हुँदै काठमाडौंतर्फ जाने र हेटौंडातर्फ आउने सवारीसाधन संचालनमा ल्याउने तयारी भइरहेको छ ।
हाल हेटौंडाबाट काठमाडौं जाने सवारीसाधनलाई भने भैंसेमा रोकी वैकल्पिक मार्ग त्रिभुवन राजपथबाट पठाइएको र काठमाडौंबाट आएको सवारीसाधनलाई रोकीराखेको पनि प्रवक्ता अर्यालले बताए ।
