आज पनि देशभर मनसुनी प्रभाव कायमैः यी प्रदेशमा वर्षा हुने

तु खबर संवाददाता
२०८१ आश्विन २०, आईतवार ०९:४५

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ ।

महाशाखाका अनुसार, देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

त्यसको प्रभावले लुम्बिनी र गण्डकीसहित देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।