दुई दिनपछि संचालनमा आयो हेटौंडा–भैसे–भीमफेदी सडक

तु खबर संवाददाता
२०८१ आश्विन १६, बुधबार १०:४९

मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको हेटौंडा–भैंसे–भीमफेदी सडक पुनः संचालनमा आएको छ । सोमबार बिहान भीमफेदी गाउँपालिका वडा नम्वर, ४ रातोमाटेस्थित माथिबाट ठूलो पहिरो खसेर अवरुद्ध भएको उक्त सडक पुनः संचालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले दिएको जानकारी अनुसार, उक्त स्थानमा गएको पहिरो मंगलबार साँझसम्म पन्छाएर आज बिहानैबाट यातायात संचालनमा ल्याइएको हो ।

उक्त स्थानमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो । यसअघि असोज १० गतेदेखि १२ गतेसम्म आएको वर्षासँगै खसेको पहिरो आइतबार मात्रै पन्छाएर यातायात संचालनमा ल्याएको थियो ।

यस्तै, वर्षापछि आएको बाढी–पहिरोका कारण हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको केही सडक हाल अवरुद्ध नै रहेको मकवानपुर प्रहरीले जनाएको छ । काठमाडौं हेटौंडा जोड्ने त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौं जाने सडक र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक संचालनमा रहेको छ ।

यस्तै, बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी कान्तिलोकपथ सडक अझै पूर्ण रुपमा बन्द छ ।

यता, दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पनि पूर्ण रुपमा बन्द रहेको छ ।

यसैगरी, दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो र कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध छ । ती सडकहरु खुलाउने प्रयास भइरहेको जनाइएको छ ।