बाढी–पहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति
काठमाडौं । केही दिन अघि आएको अविरल वर्षापछि बाढी र पहिरो जाँदा १७ अर्बभन्दा बढी धनजनको क्षति भएको छ ।
बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।
बाढी– पहिरोबाट कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढी, खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ रु एक अर्ब ३५ करोड, बराबरको क्षति भएको जनाइएको छ ।
मुख्य सचिव अर्यालका अनुसार, क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने अनुमान गरिएको छ । बाढीपहिरो र डुबानबाट देशका २१ जिल्ला प्रभावित भएका छन् ।
विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको जनाइएको छ ।
उक्त बाढी–पहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । यस्तै, सो अवधिमा एक सय ५८ जना घाइते भएका छन् भने बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ ।
बेपत्ताहरुको खोज, उद्धारका लागि सहायता परिचालन गरिएको सचिव अर्यालले बताए । साथै प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको पनि उनले बताए ।
सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको पनि अथक प्रयास गरिरहेको उनले बताए ।