बाढी–पहिरोमा परेर दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ आश्विन १६,बुधबार ०८:५४
सांकेतिक तस्वीर

काठमाडौं । केही दिनअघि आएको अविरल वर्षाका कारण गएको बाढी–पहिरोमा परेर दुई सय २८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, उक्त वर्षाका कारण गएको बाढीपहिरोमा परी आज बिहानसम्म मृत्यु हुनेको संख्या दुई सय २८ जुगेको हो ।

यस्तै, सो अवधिमा एक सय ५८ जना घाइते भएका छन् भने बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परेर अझै २५ जना बेपत्ता भएका छन् । उनीहरुको खोज, उद्धार र सहायता परिचालन गरिएको प्रवक्ता तिवारीले बताए ।

साथै प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको पनि उनले बताए ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास गरिइरहेको छ ।