राहत सामग्री लिएर मकवानपुरको सिस्नेरी जाँदै लायन्स क्लब
मकवानपुर । अविरल वर्षापछि आएको बाढी पहिरोबाट प्रभावित नागरिकलाई राहत सामग्री लिएर लायन्स क्लबको टोली मकवानपुरको सिस्नेरीतर्फ गएको छ ।
स्थानीय प्रशासनको आव्हानमा लायन्स क्लब इन्टरनेशनल र स्थानीय लायन्स क्लबहरु टोलीको राहत सामग्री लिएर सिस्नेरीतर्फ गएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी गभर्नर टासी डोल्मा तुम्बाहाङफेको नेतृत्वमा ६५ परिवारका लागि खाद्यान्नसहित म्याट र त्रिपाल लिएर टाली सिस्नेरी गएको क्लबले जनाएको छ ।
लायन्सले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ थान त्रिपाल, तेल २ लिटर, साबुन २ थान, बिस्कुट २ प्याकेट, केराउ २ केजी, नुन १ केजी र सोयाविन १ केजी उपलब्ध गराउने जनाइएको छ ।
स्थानीय प्रशासनले बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता रहेको जानकारी प्राप्त भएपछि लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषबाट २ लाख रुपैयाँसहित स्थानीय क्लबहरुबाट सहयोग संकलन गरी राहत सामग्री वितरणको लागि त्यसतर्फ गएको बताइएको छ ।
केहीदिन अघि आएको अविरल वर्षापछि गएको बाढी–पहिरो र डुबानका कारण इन्द्रसरोवरको सिस्नेरीसहित विभिन्न स्थानमा क्षति पुर्याएको छ । वर्षाको कारण इन्द्रसरोवर तालमा पानी भएपछि ड्यामको ढोका खोल्दा निस्किएको पानी र खहरे खोला मिसिएर बाढी जाँदा इन्द्रसरोवर–३, सिस्नेरी बजारको प्रहरी चौकीसहित ३० घर बाढीले बगाएको थियो ।
यस्तै, उक्त बाढीले इन्द्रसरोवरको खानीखोलास्थित २८ घर डुबानमा परेको थियो । साथै सो अविरल वर्षापछि आएको पहिरोमा पुरिएर स्थानीय वत्सलादेवी माविमा अध्ययनरत ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।