हेटौंडाको वनदेवी आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न

तु खबर संवाददाता
२०८१ आश्विन १५,मंगलवार १८:०५

मकवानपुर । हेटौंडा–१५, स्थित वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला सम्पन्न भएको छ । भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर घिमिरेको अध्यक्षता तथा हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, चालु आर्थिक वर्षको यथार्थ आय–व्याय र आगामी आर्थिक वर्षको अनुमानित आय–व्याय प्रस्तुत गरेका थिए ।

यस्तै, विद्यालयको तर्फबाट सहायक प्रधानाध्यापक एवम् सूचना अधिकारी कुमार रुम्बाले भौतिक प्रगति समिक्षा प्रतिवेदन र चालु शैक्षिक सत्र २०८१ को प्रस्तावित ४८ वटा योजनाहरू प्रस्तुत गरेका थिए । भेलाबाट ती दुबै जनाले प्रस्तुत गरेको प्रतिवेदन केहि सुझावसहित पारित गरिएको थियो ।

सो क्रममा शैक्षिक सत्र २०८० मा विभिन्न कक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने १ जना अपाङग सहित ११४ जना दलित तथा छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

यसैगरी, विद्यालयमा ३० वर्ष ४ महिना ८ दिन सेवा पूरा गरी अनिवार्य अवकास भएकी शिक्षिक उमा कुमारी ढुङ्गेललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।

साथै उत्कृष्ट असल अभिभावकको रुपमा रिमनी लामा र दिपक लामालाई प्रशंसापत्रसहित सम्मानपत्र वितरण गरिएको थियो ।