हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक सुचारु, अझै पाँच सडक अवरुद्ध

तु खबर संवाददाता
२०८१ आश्विन १५,मंगलवार १६:५०
तस्विरः सञ्जिव श्रेष्ठ (भीमफेदी गाउँपालिका उपाध्यक्ष) बाट प्राप्त

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने दुई सडक मात्रै संचालनमा रहेका छन् ।

केहीदिन अघि आएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा अवरुद्ध बनेकामध्ये हाल दुई सडकखण्ड मात्रै संचालनमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, हाल हेटौंडा–काठमाडौं जोड्ने सडकमध्ये त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौं जाने सडक र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक संचालनमा रहेको छ ।

वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो पन्छाई ती दुबै सडक सोमबारबाट पुनः संचालनमा ल्याएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

यस्तै, हेटौंडा–भैंसे र भीमफेदी हुँदै कुलेखानी जोड्ने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाएर संचालन आइतबार मात्रै संचालनमा ल्याएको उक्त सडकखण्डमा सोमबार फेरी ठूलो पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त सडकखण्डको भीमफेदी गाउँपालिका वडा नम्वर ४, रातोमाटेमा माथिबाट ठूलो पहिरो खसेको छ । उक्त पहिरो आज साँझसम्म पन्छाउने काम भइरहेको जनाइएको छ ।

यस्तै, बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी कान्तिलोकपथ सडक अझै पूर्ण रुपमा बन्द छ ।

यता, दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पनि पूर्ण रुपमा बन्द रहेको छ ।

यसैगरी, दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१, सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध छ । ती सडकहरु खुलाउने प्रयास भइरहेको उनले बताए ।