हेटौंडाबाट काठमाडौं जोड्ने केही सडक संचालन

तु खबर संवाददाता
२०८१ आश्विन १४, सोमबार ०९:१९
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने केही सडक संचालनमा आएको छ ।

अविरल वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध बनेको विभिन्न सडकमध्ये केही सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार, बाढी–पहिरोका कारण अवरुद्ध बनेको त्रिभुवन लोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा, भैसे, सिमभन्याङ, पालुङ, कुन्छाल, चित्लाङ, चन्द्रागिरी हुँदै काठमाडौंको थानकोट निस्कने चित्लाङ–थानकोट खण्ड संचालनमा रहेको छ ।

त्यस्तै, त्रिभुवन लोकपथको हेटौंडा–भंैस–सिमभन्याङ–पालुङ–नौबिसे सडकखण्डको मकवानपुर जिल्लातर्फ र हेटौंडा–भैंसे–भीमफेदी सडक सुचारु भएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

यसैगरी, मदनभण्डारी लोकमार्ग (धरान–चतरा) सडकखण्ड र पूर्व–पश्चिम लोकमार्ग संचालनमा रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

हेटौंडा–काठमाडौं जोड्ने अझै केही सडकहरु संचालनमा आउन सकेको छैन । भीमफेदी–कुलेखानी हुँदै फाखेल सडकखण्ड अन्तरगत मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिकामा अबरुद्ध छ ।

यस्तै, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड, कुलेखानी–मार्खु सडकखण्डमा पनि पहिरोको कारण बाटो अवरुद्ध नै रहेको छ भने कान्तिलोकपथ सडकखण्ड पनि अवरुद्ध छ । कान्तिलोकपथको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित बागमती खोलाको पुलको कटानले गर्दा पूर्ण रुपमा बाटो बन्द छ ।

ती सडकहरु संचालनमा आउँन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) तीर्थराज चिलुवालले जानकारी दिए । ती क्षेत्रहरुमा बाढीपहिरोका कारण पुल र सडकमा पूर्ण रुपमा क्षति पुगेको भन्दै प्रजिअ चिलुवालले स्थानीय तहका प्रतिनिधि, जिल्लामा नेतृत्व गर्ने विभिन्न दलका प्रतिनिधि, सडक विभागका प्रतिनिधिहरु लगायतको बैठक बसेर निर्णय गर्ने र बाटो संचालनको विषयलाई अगाडि बढाइने बताए ।