आज राति नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी संचालनमा रोक
चितवन । अविरल वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा सवारीसानधन संचालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा यातायात संचालनमा रोक लगाएको हो ।
बैठक आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सवारीसाधन संचालन गर्न नदिने निर्णय गरेको समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि राति सम्भावित जोखिम भएको भन्दै बैठकले उक्त निर्णय गरेको उनको भनाई छ ।
उनका अनुसार, अत्यावश्यक सवारी भने संचालन हुनेछन् । नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिनेछ ।
