मकवानपुरमा लोपोन्मुख सतुवा संरक्षण गरिँदै
हेटौंडा । उत्तरी मकवानपुरको दामन, टिस्टुङमा लोपोन्मुख सतुवाको संरक्षण गरिएको छ । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङमा बहुमूल्य वनस्पति सतुवाको संरक्षण गरिएको हो ।
बहुवर्षीय बिरुवा सतुवा औषधीका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा वैधभन्दा पनि अवैध तवरले यसको बढी सङ्कलन हुने गरेकाल यो बिरुवा लोप हुने अवस्थामा पुगेका वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले बताए ।
यो प्रजाति नेपालबाहेक भुटान, चीन, लाओस, थाइल्यान्ड, भियतनामलगायतका देशमा पाइन्छ । यो प्रजाति नेपालका एक हजार आठ सयदेखि तीन हजार पाँच सय मिटरसम्मको उचाइमा पाइने अध्ययनले देखाएको छ ।
किरा मार्न औषधीका रूपमा, सर्पले टोकेकोमा, घाउखटिरा निको पार्न, ज्वरो आउँदा, पखाला लाग्दा र पेटसम्बन्धी विभिन्न रोगमा सतुवाको प्रयोग गरिन वरिष्ठ वैज्ञानिक पराजुलीको भनाइ छ । वैज्ञानिक नाम ’पेरिस पोलिफाइला’ रहेको यसको जरा, गानो महँगोमा बिक्री हुन्छ । भार वर्गमा पर्ने सतुवा ओसिलो वनमा पाइने र यसको जरा, गानो अदुवा जस्तै तर हाँगाबिँगा नभएको हुन्छ ।
उद्यानमा दैनिक ज्यालादारीमा कार्यरत अमृत अधिकारीले सुरुवाती समयमा सतुवा न्यून सङ्ख्यामा रहेको र अहिले उद्यान नर्सरीमा संरक्षण थालिएपछि एक हजारको हाराहारीमा बिरुवा पुगेको जानकारी दिनुभयो । वनस्पति उद्यान, दामन र टिस्टुङमा उद्यान नर्सरी गरिएको सतुवा वरपरका सामुदायिक वन समूहमा पनि संरक्षण गरिएको छ ।
प्राकृतिक अवस्थाबाट जथाभाबी सङ्कलन हुँदै जाँदा सतुवा मासिन सक्ने भएकाले एक दशकदेखि सतुवाको वंशाणु स्रोत एवं नर्सरी व्यवस्थापन गरिएको हो । नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त ३३ जडीबुटीका सूचीमा सतुवा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
