आज भारी वर्षा हुने सम्भावना

तु खबर संवाददाता
२०८१ आश्विन १०, बिहीबार १०:०४
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाले सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले ती क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रही देशको सबै भू–भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाइएको छ ।