ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किए एरिका गुरुङ
काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा सहभागी भएकी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् ।
एरिका नेपालका लागि ऐतिहासिक रजत पदकसहित स्वदेश फर्किएकी हुन् । उनले घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताइन् ।
फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उनले बताइन् । साथै उनले आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरिन् ।
आज त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उनको प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाँजागाजासहित भव्य स्वागत गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई स्वागत गरेका थिए ।
सो क्रमममा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरेका थिए ।
एरिकाले चीनको हाङझाउमा सम्पन्न २० औँ सिनियर एसियन कराँते च्याम्पियनसिपमा महिला कुमुते ६८ केजी तौलसमूहमाथि रजत पदक जितेकी थिइन् ।
नेपालका कुनैपनि खेलाडीले यसअघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा पदक जित्न सकेको थिएन । यद्यपि, उनी पहिलो स्वर्ण जित्न भने चुक्यो ।