हेटौंडामा ग्याल्बो राजाको शो हुँदै
मकवानपुर । तामाङ भाषा र नेपाली भाषामा निर्र्माण गरिएको चलचित्र ग्याल्बो राजाको हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत् चलचित्र युनिटले आउँदो १७, १८ र १९ गते विशेष शो रहने जानकारी दिएको हो ।
चलचित्रका निर्देशक विनायक तामाङका अनुसार ग्रामीण भेगमा दलित र तामाङ समुदायबीचको अन्तर प्रेम कथामा आधारित सामाजिक चलचित्र ग्याल्बो राजामा अर्जुन गुरुङ, विनायक तामाङ, सङ्गीता तितुङ, मायादेवी मोक्तान, सञ्चवीर लो, किशोर श्रेष्ठ, मेम्बर लो, ऋतु तामाङ, रोजिना तामाङ, मनिका सिङ्तान, सञ्जय रुम्बा लगायतको अभिनय छ ।
चलचित्र १७ र १९ गते तामाङ भाषामा र १८ गते नेपाली भाषामा प्रदर्शन गरिने निर्देशक तामाङले बताए । हामीले १७ गते विहान ९ बजे, १८ गते १२ बजे र १९ गते विहान ९ बजे चलचित्र प्रदर्शन गर्नेछौं, निर्देशक तामाङले भने । उनले चलचित्र आगामी कार्तिक ९ गते देशभर प्रदर्शन हुने बताए । चलचित्र मकवानपुरको विभिन्न स्थान र काठमाडौंमा छाँयाकन गरिएको उनले बताए ।
चलचित्र उत्कृष्ट बनेकोले पार्ट २ पनि निर्माण गरिने निर्माता संगीता तितुङले बताइन् । चलचित्र निर्माणमा करिब २० लाख खर्च भएको उनले बताइन् ।
कालीदेवी मिडिया हाउस प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्रलाई विश्व दोङ र नीमा दोङले संयुक्त रुपमा संगीत भरेका छन् । चलचित्रमा राजु किरातको द्वन्द्व र राजु शिशिरको नृत्य निर्देशन रहेको छ । निर्देशक तामाङले यसअघि सेमला दुङ्गाल, ज्योज्यो आले, मैच्याङ, चु–माया, मनको साथी, डम्फुरे लगायत १० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।
