सामरीमा चल्न दिइएन यात्रुबाहक म्याजिक जीप  

तु खबर संवाददाता
२०८१ आश्विन ४, शुक्रबार १४:४८

 

मकवानपुर । हेटौंडादेखि सामरी भालुखोलासम्म यात्रुबाहक ७ सिटे सार्वजनिक सवारी साधन नियमित रुपमा सञ्चालन गर्ने प्रयास गरिए पनि ती सवारी साधन चल्न छोडेका छन् । तीन पाङ्ग्रे अटोरिक्सा चालकहरुको धरपकड र धम्कीका कारण भ्यान प्रकृतिका ती सार्वजनिक सवारी नियमित रुपमा सञ्चालनमा ल्याउन नसकिएको हो ।

 

सडक सुधारभएपछि हेटौंडादेखि सामरीपुल हुँदै शहिद बासुदेवमार्ग अन्तर्गत पर्ने धादिङ, भालुुखोलासम्म सार्वजनिक यात्रुबाहक म्याजिक भ्यानहरु नियमित रुपमा सञ्चालनमा ल्याउन प्रयास गरिएको भए पनि सोही सडकमा सिन्डिकेट शैलीमा चलाइँदै आएको तीन पाङ्ग्रे अटो रिक्सा चालकहरुले विभिन्न किसिमका अवरोध खडा गरेपछि ती म्याजिक हट्न बाध्य परिएको थानीयबासीहरु बताउँछन् ।

 

सहुलियत दरको भाडा कायम गरी नियमित यात्रु ओसारपसार गर्ने तयारीका साथ हाललाई भालुखोलासम्म सञ्चालन गरिएका ती सार्वजनिक यात्रुबाहक भ्यानहरु यात्रुहरुको माग भई आएमा आगामी दिनमा मकवानपुरगढी– ६ डुम्रेकुनासम्म सञ्चालनमा ल्याउने उद्देश्य राखिएको थियो ।

 

गएको साउनको मध्यतिरबाट सञ्चालनमा ल्याइएका ती म्याजिक भ्यानहरु असोज १ गतेदेखि नै हटाउन बाध्य पारिएपछि स्थानीय उपभोक्ताहरु चर्को भाडा तिरेर यात्रा गर्न बाध्य छन् । यस विषयमा उपभोक्ताहरुले गुनासो गरिरहेका छन् । तीन पाङ्ग्रे अटोरिक्साहरुले आफूखुशी भाडा तोकी यात्रुहरुलाई ठग्ने प्रवृत्ति मौलाउने देखिएको छ ।

 

तीन सिट क्षमताको अटोरिक्सामा यात्रुलाई असहज हुने गरी ६ जनासम्म राखेर ओसार पसार गर्दा पनि उक्त सडकमा सुरक्षाका लागि खटिएका प्रहरीहरुले कुनै चासो नदेखाउनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । यस विषयमा सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाहरुको गम्भिर रुपमा ध्यानाकर्षण हुनु आवश्यक देखिएको छ ।