संविधान दिवसको अवसरमा कृतिम खुट्टा र ह्विल चेयर वितरण
मकवानपुर । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र श्री पशुपती गौशाला धर्मशालाद्वारा संयुक्त रुपमा १५ जनालाई कृतिम खुट्टा र ह्विल चेयर सहयोग गरिएको हो ।
जसमध्ये ७ जनालाई ९ वटा कृतिम खुट्टा र ६ जनालाई व्हिल चेयर वितरण गरिएको हो । उनीहरुलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री किरण थापाले उक्त कृतिम खुट्टा र ह्विल चेयर हस्तान्तरण गरेका हुन् ।
सो क्रममा बोल्दै मन्त्री थापाले मानविय सेवामा बागमती प्रदेश सरकार सदैव तत्पर रहेको भन्दै खुट्टा नभएकै कारण धेरै नै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री वितरण गरेको बताए । संविधान दिवसको दिन खुट्टा एवम् व्हिल चेयर वितरण गर्न पाउदा आफुलाई अत्यन्तै खुशी भएको बताउँदै उनले जीवन सहज हुने विश्वासका साथ यो कार्यक्रम अगाडि बढाएको बताए ।
यी संस्थाहरु सङ्ग निःशुल्क शव बाहन संचालन, विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उनले जानकारी दिए ।
यस्तै, शुद्ध पिउने पानीको लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर पनि राख्ने तयारी भएको उनको भनाई छ । मारवाडी सेवा समिति र पशुपति गौशाला धर्मशालाले गरेका अन्य विभिन्न मानवीय कार्यको उनले प्रशंसा गरे ।
कार्यक्रम पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तपडियाको सभाध्यक्षतामा भएको हो ।
