आजदेखि सुरु भयो सोह्रश्राद्ध
मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात सोह्रश्राद्ध आज (बुधबार) देखि सुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ ।
सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने गर्दछ ।
यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको पनि विश्वास छ । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक सुरुवात हुने गर्दछ ।
सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदी विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ ।
