उद्योगमन्त्री तामाङले गरिन् हस्तकला संघका प्रतिनिधिसँग छलफल
मकवानपुर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले हस्तकला संघका प्रतिनिधिहरुसँग छलफल गरेकी छन् ।
सोमबार मन्त्रालयमा हष्तकला संघका प्रतिनिधिहरुसँग मन्त्री तामाङले छलफल गरेकी हुन् । छलफलका क्रममा मन्त्री तामाङले हस्तकलालाई बागमती प्रदेशमा मात्रै नभई सातै प्रदेशमा जाने खालको वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गरिन् ।
उनले हस्तकलालाई प्रवद्र्धन गर्न आफ्नो प्रमुख उद्देश्य रहेको बताउँदै आइपर्ने कानूनी अड्चन फुकाउने काम गर्ने पनि बताइन् । उनले बागमती प्रदेश सभाको बैठकबाट ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन ऐन, २०८०’ विद्येयक पारित गर्ने तयारी भएको जानकारी गराउँदै त्यसले पनि थप केही सहज हुने बताइन् ।
हस्तकला संघका प्रतिनिधिहरुको हितमा रहेर काम गर्ने बताउँदै मन्त्री तामाङले उद्यमीलाई दर्ता प्रकृयामा सहज वातावरण बनाउने प्रतिवद्धता जनाइन् ।
छलफलमा हस्तकला महासंघ बागमती प्रदेशका अध्यक्ष नविन शाक्य, उपाध्यक्ष अवानीश प्रधानाङ्ग, महासचिव मनमोहन सिंह मल्ल, उनिजन्य वस्तु विकास संघकी अध्यक्ष रेखा अर्याल लगायत हस्तकला संघका विभिन्न जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
