महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार अर्याललाई प्रदान गरिने

तु खबर संवाददाता
२०८१ भाद्र ३१, सोमबार १०:५६

मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० मकवानपुरे महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ ।

आगामी असोज ५ गते शनिबार विशेष कार्यक्रमका बिच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित २१ औं महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको हो । सो बारे आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो ।

महालक्ष्मी विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले पुरस्कार प्रदान गर्दै आएको छ । मातृभूमिले उक्त पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको छ ।

यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिए ।

यसैगरी, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा सन्देश दैनिक पत्रिकाका सम्पादक माधव न्यौपानेलाई प्रदान गरिने भएको छ । १० हजार रुपैयाँ राशीको उक्त पुरस्कार समाजसेवी इश्वर मैनालीले आफ्ना पिताको सम्झनामा स्थापित गरेका हुन् ।

२०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले २०५९ सालदेखि नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान पुराउने साहित्यसेवीलाई प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।