अब मकवानपुरमा पनि महिला सुधार गृह
मकवानपुर । अब मकवानपुर जिल्लामा पनि महिला सुधार गृह संचालनमा आएको छ ।
पछिल्लो समय जिल्लामा महिला लागूऔषध प्रयोगकताको संख्या बढेसँगै हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९, लामसुरेहाइटमा महिला लागूऔषध तथा मादकपदार्थ पुर्नस्थापना गृह संचालनमा ल्याइएको हो ।
मकवानपुरमा पछिल्लो समय महिलाहरु पनि लागूऔषधमा फसेर नियन्त्रणबाहिर गएपछि पुनस्र्थापना गृह संचालनमा ल्याएको महिला पुर्नस्थापना केन्द्र संचालनमा ल्याएको केन्द्रका संयोजक तान्या अग्रवालले जानकारी दिइन् ।
लागूऔषध प्रयोगकर्ता पुरुष र महिलाको संख्या उत्तिकै भएपनि जिल्लामा पुरुषको लागि मात्रै सुधार गृह संचालनमा रहेको थियो । महिला सुधार गृह नहुँदा अन्यत्र लैजानुपर्ने अवस्थालाई मध्यनजर गर्दै आफुले १५ जना क्षमताको महिला सुधार गृह संचालनमा ल्याएको बताइन् ।
‘मकवानपुरमा यस विषयमा महिला विज्ञता कम रहेको र चुनौती पनि रहेको अवस्थामा हामीले युवतीहरुको सकारात्मक जीवनका लागि अवसर सिर्जना गर्ने उद्देश्य राखेका छौं,’ अग्रवालले भनिन् ।
उनका अनुसार, हाल उक्त महिला पुर्नस्थापना केन्द्रमा २ जना पूर्व लागूऔषध प्रयोगकर्ता छन् । हेरचाहका लागि महिलालाई महिला नै आवश्यक पर्ने भएकाले २ महिला परामर्शदाता, १ महिला चिकित्सकको व्यवस्था गरिएको छ ।
सरकारी मापदण्डअनुरुप केन्द्र व्यवस्थापन र संचालन प्रमुख प्राथमिकता रहेको र त्यसअनुरुप व्यवस्थापन र विभिन्न निकायसंग समन्वय गरिरहेका उनको भनाई छ ।
उनले भनिन्, ‘विशेषतयः मनोपरामर्श, हेरचाह, योग, ध्यान, आध्यत्मिक जागरण, खेलकुद, परिवारको महत्व र सामाजिकीकरणयुक्त बनाउन हाम्रा दैनिक कक्षाहरु व्यवस्था गरिएको छ ।’
निकट भविष्यमा यसलाई थप व्यवस्थित गर्दै उपचारको पहुँच र चेतना वृद्धि गर्दै अघि बढ्ने योजना रहेको उनले बताइन् ।
