स्वास्थमन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन

तु खबर संवाददाता
२०८१ भाद्र २५, मंगलवार १४:११

काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गरेका छन् । स्वास्थ्यमन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिएका हुन् ।

अस्पतालमा रहेका उपकरण, औषधीहरुलगायतका सामग्रीहरुको अधिकतम उपयोग गरेर सेवाग्राहीहरुलाई सेवा दिन अस्पताल प्रशासनलाई उनले निर्देशन दिए । राम्रो काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्ने पनि उनको भनाई थियो । अस्पतालहरुको सेवा सुधारमा प्रदेश सरकारले सहयोग गरिरहेकोे भन्दै यसलाई अझ विस्तार गर्ने बताए ।

मन्त्री थापाले अस्पतालको गतिविधि बारेमा जानकारी लिँदै सरल र सहज ढंगबाट नागरिकले पाउने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

अनुगमनका क्रममा स्वास्थ्यमन्त्री थापासहित स्वस्थ्य मन्त्रालय महाशाखा प्रमुख एवम् प्रवक्ता डा.खगेश्वर गेलाल , टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी ,वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ , अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्ष डा. दिपेन्द्र श्रेष्ठसहितको टोली सहभागी थियो ।

अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीधर अर्यालले अस्पतालको सेवा एवम समस्याको बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी सोमबार नै मन्त्री थापा प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रद्वारा आयोजित हेमोफिलियाबाट प्रभावित ब्यक्तिहरुका लागि एन्टि हेमोफिलिक फ्याक्टर खरिद तथा बिक्रि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थाको न्यूनीकरणका लागि यो कार्यक्रम प्रभाभकारी हुने उनको भनाई छ ।

सोमबार नै स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले आयोजना गरेको रक्त संचारका लागि निशुल्क ब्लड ब्याग कार्यक्रमको प्रदेश स्तरीय समिक्षा गोष्ठिमा समेत प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।