बाढीका कारण खोलाको बगरमा अलपत्र परेका चार जनाको उद्धार
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लिपुरस्थित राप्ती खोलाको बगरमा अलपत्र परेका चार जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ ।
राप्ती खोलामा आएको बाढीका कारण अलपत्र परेका तीन महिला र एक पुरुषको गएराति नै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार, बगरमा घाँस काट्न गएका चारै जना खोलामा बाढी आएसँगै बगरको बिचमा अलपत्र परेका थिए ।
उनीहरुको इलाका प्रहरी कार्यालय नेवारपानी, इलका प्रहरी कार्यालय मनहरी, बागमती प्रदेश विपत् व्यवस्थापन गुल्म थानाभर्याङ, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुर र नेपाली सेनाको सुपारेटार ब्यारेकबाट खटिएको संयुक्त टोलीले उद्धार गरेको हो ।
टोली विभिन्न उपाय अपनाइएर बगरमा अलपत्र परेका चारै जनालाई सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
