मकवानपुरमा डेंगु सक्रमितको संख्या २ सय नाघ्यो
मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या २ सय नाघेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या २ सय ७ पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ११० जना महिला र ९७ जना पुरुष रहेका छन् ।
सो अवधिमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित फेला परेका छन् । त्यहाँ ७० पुरुष र ८४ महिला गरी १५४ जनामा डेंगु पुष्टि भएको हो ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकाका ८ पुरुष र ७ महिला गरी १५ जना, बागमती गाउँपालिकाका एक जना पुरुष, कैलाश गाउँपालिकाका दुई पुरुष, मनहरी गाउँपालिकाका ११ पुरुष र ८ महिला गरी १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, बकैया गाउँपालिकाका ४ पुरुष र ४ महिला गरी ८ जना, भीमफेदी गाउँपालिकाका एक पुरुष र ३ जना महिला गरी ४ जना, ठेगाना नखुलेको एक महिला र अन्य जिल्लाका ३ महिलामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको थाहा नगरापालिका र राक्सिराङ गाउँपालिकामा भने हालसम्म डेंगु संक्रमित नभेटिएको जनाइएको छ ।
जिल्लामा सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
