हाँडीखोला युथलाई चैनपुर जेसीजको खेल सामग्री
मकवानपुर । जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हाँडीखोला युथ क्लबलाई चैनपुर जेसीज मनहरीले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच एकसेट जर्सी र फुटबल हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संयोजक सरोज विष्टको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रबिन ढकालको सभाध्यक्षता एवम् मनहरी गाउँपालिका ९ नम्बर वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले जिल्ला लिगमा सहभागी हुन लागेका खेलाडीले अनुशासनलाई विशेष ध्यान दिएर उत्कृष्ट खेल प्रस्तुत गर्न अनुरोध गरे । गाउँपालिकाकै नाम राख्ने गरी खेल्न अनुरोध गर्दै श्रेष्ठले आवश्यक सहयोगका लागि आफू र गाउँपालिका तयार रहेको बताए ।
यस्तै, चैनपुर जेसीज मनहरीका अध्यक्ष रबिन ढकालले खेलाडीको हौसला बढाउन जर्सी र फुटबल सहयोग गरिएको बताए । उनले लिगमा राम्रो खेल खेल्दै गएमा आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
हाँडीखोला युथका अध्यक्ष गणेशदर्पण अधिकारीले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले खेलाडीको हौसला बढ्ने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रमका बिच जेसीजका महासचिव कृष्णप्रसाद ढकालले २ हजार, उपाध्यक्ष नवराज रिजालले ३ हजार, अर्का उपाध्यक्ष जयराम रिजालले ५ हजार र सदस्य बालकृष्ण बिष्टले ३ हजार रुपैयाँ क्लबलाई सहयोग गरेका थिए ।
