बागमतीको झण्डै १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा

तु खबर संवाददाता
२०८१ भाद्र ११, मंगलवार १८:१३

मकवानपुर । बागमती प्रदेशको झण्डै १३ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । प्रदेशको १३ जिल्लाका सामुदायिक, कबुलियति र धार्मिक वनको १२ हजार ९ सय ४६ दशमलव ७९ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो ।

उक्त तथ्याङ्क गत आर्थिक वर्ष २०८०-०८१ सम्मको रहेको वन निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालयले वन अतिक्रमणको एकीकृत तथ्यांक पहिलो पटक तयार पारेको डिभिजन वन अधिकृत रामकुमार भण्डारीले बताए ।

उनका अनुसार, निर्देशनालयले अनुगमन तथा मूल्यांकन प्रतिवेदन बनाएर प्रदेश मातहतका १५ वटा डिभिजन वन कार्यालयको समन्वयमा अतिक्रमण भएको वन क्षेत्रको तथ्यांक तयार गरेको हो ।

प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी वन सिन्धुलीमा अतिक्रमण भएको छ । त्यहाँ ६ हजार ४ सय ४ दशमलव ८७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको वन अधिकृत भण्डारीले बताए ।

यस्तै, मकवानपुरमा ३ हजार ५ सय ५६ दशमलव ९६, चितवनमा १ हजार ६ सय ८८, धादिङमा २ सय ४६ दशमलव ९६, रसुवामा ३६ दशमलव २७ र नुवाकोटमा ९३ दशमलव ९४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

यसैगरी, काठमाडौंमा १३, ललितपुरमा ३०, काभ्रेमा २ सय ५८, सिन्धुपाल्चोकमा ७८ दशमलव ९०, रामेछापमा ४ सय ९५ दशमलव ५ र दोलखामा ४४ दशमलव ८५ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको वन अधिकृत भण्डारीले बताए ।

उनका अनुसार, प्रदेशको भक्तपुर जिल्लामा भने वन क्षेत्र अतिक्रमणमा परेको छैन ।

बागमतीको कुल क्षेत्रफलको ५३ दशमलव ७३ प्रतिशत वन क्षेत्र रहेको वन निर्देशनालयले जनाएको छ ।