आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै
काठमाडौं । आज देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक ‘श्रीकृष्ण जन्माष्टमी’ मनाइने भएको होे ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।
