हेटौंडा–१७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । उक्त वडा उपमहानगरकै चौथो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो ।
शुक्रबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १७ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष उद्धव सत्यालले जानकारी दिए ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ ।
स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गणबाट प्रभातफेरीसहित वडा कार्यालय परिक्रमा गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख राजेश बाँनया, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।
यसअघि हेटौंडा–८ पहिलो, हेटौंडा–२ दोस्रो र हेटौंडा–७ तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषित भइसकेको छ । १९ वटा वडा रहेको हेटौंडा उपमहानगरपालिकामा पछिल्लो समयमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने क्रम बढ्दो छ ।
