हेटौंडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने
हेटौंडा । जेष्ठ नागरिकलाई लक्षित गरी हेटौंडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालय परिसरमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माणाधीन अवस्थामा छ ।
ज्येष्ठ नागरिकको दिनभर मन बहलाउनका लागि पोखरी, बगैँचा, भजनकीर्तनका लागि हललगायतका संरचनासहितको मनोमञ्जन पार्क बन्ने भएको हो । पछिल्लो समयमा व्यापार, व्यवसाय, जागिर, अध्ययन वा अन्य कामको सिलसिलामा छोराछोरी दिनभर घरबाहिर हुने व्रmम र परिवार संख्या बढ्दो छ ।
छोराछोरी एवम् परिवारका सदस्य घरबाहिर हुँदा ज्येष्ठ सदस्य दिनभर घरमा एक्लै बसिरहनुपर्ने बाध्यता छ । ज्येष्ठ नागरिकलाई दिनभर एक्लै घरमा बसिरहन सहज नहुने भएकाले उनीहरूको मन बहलाउन र समय बिताउन ज्येष्ठ नागरिक मनोमञ्जन पार्कको अवधारणा ल्याइएको हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारी निर्माणाधीन पार्क ज्येष्ठ नागरिकलाई लक्षित गरी बनाउन लागेको बताउछन् । उनले पाँच करोड रुपियाँको लागतमा निर्माण गर्ने गरी विस्तृत परियोजना बनेकोमा हालसम्म डेढ करोड रुपियाँ खर्च भइसकेको बताउँदै दाताबाट सहयोग जुटाएर यसै वर्षमा मनोमञ्जन पार्क निर्माण पूरा गरी सञ्चालनमा ल्याउने योजना रहेको सुनाए ।
छोराछोरी एवम् परिवारका सदस्य आफ्नो कर्तव्यका कारण दिनभर घरबाहिर हुनुपर्छ, दिनभर घरमा एक्लै बसिरहनु पक्कै पनि सजिलो हुँदैन अध्यक्ष अधिकारीले भने,“यिनै कुरालाई आत्मसात् गर्दै रमणीय पार्क निर्माण गर्न लागिएको हो ।”
मानवसेवा आश्रमले सुरुवातमा सातै प्रदेश र पछि सबै जिल्ला र नगरमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माणको अवधारणा ल्याएको छ ।
मनोमञ्जन पार्क के हो ?
“सबै समस्याको जड भनेको मन हो । यही मनलाई दैनिक बिहान बेलुका दाँतमा मञ्जन गरेको जस्तै ज्ञान, सत्सङ्ग, ध्यानबाट मञ्जन गर्नुलाई मनोमञ्जन भनिन्छ अर्थात् मनलाई माझ्ने भनेको हो,” अध्यक्ष अधिकारीले भने ।
विद्यार्थीका लागि विद्यालय सञ्चालन गरे जस्तै गरी मनोमञ्जन पार्क सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिक बिहान खाना खाएर १० बजे मनोमञ्जन पार्क आउनुहुनेछ । टाढा घरभएका ज्येष्ठ नागरिकलाई बसको व्यवस्था गरिने छ । आश्रम अध्यक्ष अधिकारीले बेलुका ६ः०० बजेपछि छुट्टी गरिने भन्दै टाढा हुनेहरू र अशक्तहरूलाई बसमा घर पुर्याउने पनि व्यवस्था मिलाइने बताए ।
उनका अनुसार, बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोमञ्जन पार्कमा ज्ञान हस्तान्तरण, सत्सङ्ग, ध्यान साधना, विभिन्न खेल, भजनकीर्तन, स्वास्थ्य परीक्षण, विद्यालयका विद्यार्थीलाई पालैपालो बोलाएर ज्येष्ठ सदस्य अनुभव सुनाउने, सन्ध्याकालीन आरतीलगायतका रचनात्मक क्रियाकलाप हुनेछन् । ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्न पुस्ता हस्तान्तरण कार्यक्रम गरिने उनले बताए ।
एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको पार्क पसिरमा ध्यान हल, सत्सङ्ग कक्ष, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै दिउँसोको समयमा थकाइ लाग्दा वा आराम गर्नुपर्नेलाई दृष्टिगत गरी शयनकक्षको समेत व्यवस्था हुनेछ ।
यो वर्ष हेटौंडाबाट सुरु गरी सबै प्रदेशमा मानवसेवा आश्रमको सेवाको साथमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्कको सेवा अगाडि बढाइने आश्रमका अध्यक्ष अधिकारीले बताए । मानवसेवा आश्रमले हेटौंडालगायतका देशका विभिन्न स्थानमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन) सडक आश्रित मानवलाई आश्रय दिँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
