मकवानपुरमा जङगली जनावर बाघ मृत फेला

मकवानपुर । मकवानपुरको मनहरीमा आज बिहान जङगली जनावर बाघ मृत अवस्थामा फेला परेको छ ।
बिहान सवा ३ बजेको समयमा मनहरी गाउँपालिका–६, प्रतापुर बस्ने बलबहादुर राईको जस्ताको छानो भएको गोठमा रहेको भैसीलाई जंगली जनावर बाघले आक्रमण गर्दा एउटा भैसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बाघ मृत अवस्थामा भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराएका थिए ।
प्राप्त जानकारी अनुसार, प्रहरी टोली र पर्सा बन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली खटी गई हेर्दा बाघ बुढो भएको र भैसीले हान्दा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उक्त एरिया चितवन राष्ट्रिय निकुन्जको पर्ने भएकोले आज बिहानै सवा ६ बजेको समयमा मृतक बाघलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको जनाइएको छ ।