बागमतीका खेलाडीले पदक जितेको २ वर्षपछि पुरस्कार पाउँदै
मकवानपुर । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडीहरुले प्रोत्साहन स्वरुप पुरस्कार प्राप्त गर्ने भएका छन् । उनीहरुलाई प्रदेश सरकारले नगदसहित पुरस्कार प्रदान गर्न तयारी तीब्र पारेको छ ।
२०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सम्पन्न भएको उक्त प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीहरुलाई नगदसहित पुरस्कार प्रदान गर्न लागिएको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका थिए । तर, हालसम्म पनि सो पुरस्कार वितरण भएको थिएन ।घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारेका हुन् ।
‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ । अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ । हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडीहरुलाई पुरस्कार बाँड्छौँ ।’ मन्त्री महर्जनले भने ।
उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडीको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनको भनाई छ ।
अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भएता पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।
मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको थियो ।
बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त प्रतियोगिताको पुरस्कार खेलाडीहरुलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो ।
संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने भन्दै पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।
