मकवानपुरमा थप १५ जनामा डेंगु पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ४, मनहरी गाउँपालिकाका ९, भीमफेदी गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनामा डेंगु पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमा ३४ जना पुरुष र ४५ जना महिला रहेका छन् ।
सो तथ्याङ्क साउन १ गतेदेखि साउन ३१ गते बिहीबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १८ पुरुष र ३३ महिला गरी ५१ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, बागमती र कैलाश गाउँपालिकाका एक–एक जना पुरुष, मनहरी गाउँपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जना डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, भीमफेदी गाउँपालिकाका दुई महिला, बकैया गाउँपालिकाका दुई पुरुष र एक महिला गरी ३ जना, हाल ठेगाना नखुलेका एक महिला र अन्य जिल्लाका दुई महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
