आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) र संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो ।
जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ ।
यसैगरी, दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठक बस्दैछ । उक्त बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ । बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ ।
