श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
मोरङ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले मोरङबाट आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।
४१ वर्षीया पबित्रा फुयाल नेपालको हत्या गरेको अभियोगमा उनकै श्रीमान् सुन्दरहरैचा नगरपालिका–१० बागझोडा बस्ने ५८ वर्षीय लक्ष्मण नेपाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, घरायसी विवादको क्रममा लक्ष्मणले एक्कासी खुकुरी प्रहार गर्दा पबित्रा गम्भीर घाइत भएकी थिइन् ।
गम्भीर घाइते भएकी पबित्राको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
