महेन्द्र माविका विद्यार्थीलाई स्वागत तथा बिदाइ

तु खबर संवाददाता
२०८१ श्रावण २३, बुधबार १८:५९

मकवानपुर । हेटौंडा–१३ पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसईई परिक्षामा उतीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययन गरी एसईई परीक्षा तथा कक्षा १२ पास गर्ने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गरेकी हुन् ।

विद्यालयबाट परीक्षामा उतीर्ण भएका ३८ विद्यार्थीलाई बुधबार आयोजित कार्यक्रममा सम्मान गरिएको हो । परीक्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । सो अवसरमा नगर प्रमुख लामाले शिक्षालाई व्यवहारीक बनाउन जरुरी रहेको बताइन् । उनले शैक्षिक प्रमाणपत्रमा मात्र सिमित रहेको शिक्षालाई प्रबिधिमैत्री बनाउँदै अघि बढाउन जरुरी रहेको बताइन् । शैक्षिक सुधारका लागि उपमहानगरले काम गरिरहेको बताउँदै शिक्षासँगै रोजगारीको व्यवस्थापन मिलाउने अवस्था बनाउन जरुरी रहेको बताइन् ।

न्युनतम शिक्षा पुरा भएपछि थप शिक्षाका लागि आफँैले रोजगारीको अवस्था बनाउने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा विद्यालयका लागि २ लाख ५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने चन्द्रबहादुर वाइवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्य उत्तम गोम्जा, टोलविकास संस्था वडा समन्वय समितिका संयोजक बालकुमार श्रेष्ठ, पदमपोखरी क्याम्पसका प्रमुख निबन्ध लामा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोबिन थिङ, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । महेन्द्र माविबाट बिदाइ भएका बिद्यार्थीलाई पदमपोखरी क्याम्पसले स्वागत गरेको थियो ।