हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीले हासिल गरे उत्कृष्ट नतिजा
मकवानपुर । हेटौंडा–५ पिप्लेस्थित हेटौंडा सिटी कलेजका कानून संकायका विद्यार्थीहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् ।
कलेजकी विद्यार्थी मधुमित्ता यादवले ३.६६ जिपिए प्राप्त गरी जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छिन् ।
कलेजले शतप्रतिशत उत्तीर्ण दर हासिल गरेको खुशीयालीमा सोमबार हेटौंडा बजार परिक्रमा गरेको छ । प्रभातफेरीले शहरका प्रमुख चोकहरू परिक्रमा गरेको थियो ।
कलेजका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार, विसं २०७९ देखि कक्षा ११ र १२ मा अंग्रेजी माध्यमबाट कानून संकाय सञ्चालन गरिएको हो । “पहिलो वर्षमै १० जना विद्यार्थीलाई अध्यापन गराउँदा जिल्ला उत्कृष्ट र शतप्रतिशत नतिजा हासिल गर्न सफल भयौं,” उनले भने । एक विद्यार्थीले ए प्लस र दुई जनाले ए ग्रेड प्राप्त गरेका छन् ।
कानून संकायका प्रमुख हेमन्त ढुंगेलले मकवानपुरमा अंग्रेजी माध्यमबाट कानून अध्यापन गराउने एकमात्र कलेज भएको बताए । उनले आगामी दिनमा पनि शतप्रतिशत नतिजा ल्याउने लक्ष्य राखेको जानकारी दिए ।
यस सफलताले हेटौंडा सिटी कलेजको शैक्षिक गुणस्तर र प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ, जसले स्थानीय स्तरमा गुणस्तरीय कानूनी शिक्षाको उपलब्धतालाई सुनिश्चित गरेको ढुङ्गेल बताउँछन् ।
