मकवानपुरका थप १४ जनामा डेंगु पुष्टि, कुल संख्या कति पुग्यो
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १२, बकैया गाउँपालिका एक जना र अन्य जिल्लाका एक जना गरी १४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको संख्या ४३ जना पुगेको छ । जसमा १३ जना पुरुष र ३० जना महिला रहेका छन् । सो तथ्याङ्क साउन १ गतेदेखि साउन २० गते आइतबार दिउँसोसम्मको रहेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ९ पुरुष र २६ महिला गरी ३५ जना, मकवानपुरगढी गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, मनहरी गाउँपालिकाका एक पुरुष, बकैया गाउँपालिकाका एक पुरुष र एक महिला गरी दुई जना र अन्या जिल्लाका एक महिलामा डेंगु संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा डेंगु संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
