हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण १८, शुक्रबार १६:५५

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने सुभास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा कुशल गम्भीर घाइते भएका थिए । घाइते कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका–४ बलियाबाट पक्राउ गरेको जानकारी दिएको छ ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक प्रकृया अगाडि बढाएको छ ।