नेटो राष्ट्रहरूबाट युक्रेनले पायो अमेरिकी एफ– १६ लडाकु विमान
काठमाडौँ । नेटो राष्ट्रहरुले युक्रेनलाई अमेरिकी एफ १६ लडाकु विमान सहयोग गरेका छन् ।
युक्रेनलाई एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही लडाकु विमान भित्रिइसकेको युक्रेनस्थित सञ्चार माध्ययमहरुले जनाएका छन् ।
युक्रेनलाई जुलाई अन्तिम सम्ममा एफ–१६ लडाकु विमान दिने प्रतिबद्धता अनुसार सो म्यादभित्रै केही विमान युक्रेनलाई दिइएको हो ।
विगत महिनाहरुमा पश्चिमी देशहरूमा तालिम लिएका युक्रेनी पाइलटले ती विमान अहिले नै चलाउने हुन् वा उनीहरु ती विमान उडाउन सक्षम हुन अझै समय लाग्ने छ भन्ने स्पष्ट भइसकेको छैन ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ–१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएका थिए । त्यसको १४ महिनापछि एफ–१६ लडाकु विमान अन्ततः युक्रेनको हात लागेको हो ।