अविरल वर्षाका कारण उपत्यकाको विभिन्न स्थान डुबानमा

काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थान डुबानमा परेका छन् ।
वर्षाका कारण खोलामा आएको बाढीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको विभिन्न स्थान डुबानमा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, वर्षाका कारण उपत्यकाको तीन वटै जिल्लामा क्षती पुगेको छ ।
बाढीका कारण ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेस लगायतको क्षेत्रमा बाढी पसेको जनाइएको छ ।
यस्तै, गोदाबरी खोलाको बाढी बस्तीमा बस्दा इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ ।
यस्तै, बाढीको बाढी पस्दा काठमाडौं जिल्लाका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाको शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्क, बाफल क्षेत्रलगायतको क्षेत्र डुबानमा परेको छ ।
काठमाडौंको धोबिखोला, चाबहिल, कपन क्षेत्रमा बाढीको सतह सतर्कताको तहसम्म पुगेको छ । त्यस क्षेत्रका बासिन्दालाई आवश्यक सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
यस्तै, गएराति परेको अविरल वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरमा मनोहरा खोला र महादेव खोला बस्तीमा पसेको हो । सूर्यबिनायक र मध्यपुर थिमी नगरपालिका, चाँगुनारायण नगरपालिका लगायतको क्षेत्रमा डुबान परेको प्रहरीले जनाएको छ ।
डुबानमा परेका ती सबै क्षेत्रका नागरिकहरुलाई सेना, सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले उद्दार गरी सुरक्षित स्थानमा सारिरहेको र डुबानमा परेका सामान निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।