कामदार भिसाका लागि लोटरी खोल्दै अमेरिका

तु खबर संवाददाता
२०८१ श्रावण १६,बुधबार ०९:३१

अमेरिका । अमेरिकाले कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक वर्ष २०२५ का लागि दोस्रो पटक लोटरी खोल्न लागिएको हो ।

आर्थिक बर्ष २०२५ का लागि तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट गर्नका लागि लोटरी खोलिने भएको हो ।

यसअघि मार्चमा कामदार भिसा एचवानबीका लागि अनलाइन दर्ता गर्ने अवधि तोकेर प्राप्त आवेदनहरु लोटरीमार्फत् छनौट गरिएको थियो ।
छनौट भएकाहरुलाई अप्रिल १ देखि ३० सम्मको अवधिमा भिसा प्रक्रिया अगाडि बढाउन समय दिइएको थियो । सो समयभित्र भिसा प्रकृया अगाडि बढाइएका आवेदनको मूल्यांकन गरेर थप आवेदक चाहिने निष्कर्ष निकालिएको युएससीआईएसले जनाएको छ ।

मार्चमा अनलाइनमार्फत् दर्ता गरेकाहरुमध्ये बाट छनौट गरिने भएकाले लोटरीमा नयाँले भने समावेश हुन नपाउने जनाइएको छ ।
पहिले नै दर्ता गरेका तर छनौट नभएकाहरुलेमात्र मौका पाउनेछन् । लोटरीमार्फत् दोश्रो राउण्डको छनौट गरिएपछि यसबारे छनौट भएका आवेदकहरुलाई जानकारी गराइने र त्यसपछि उनीहरुले भिसा प्रकृया अगाडि बढाउनसक्ने युएससीआईएसले जनाएको छ ।

मार्चमा लोटरीमार्फत् १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो । गतबर्ष ७ लाख ८० हजार ८ सय ८४ आवेदनहरु लोटरीका लागि दर्ता गरिएकोमा यसपटक जम्मा ४ लाख ७९ हजार ९ सय ५३ आवेदनहरुमात्र दर्ता भएका छन् । यस पटक करिब ६५ हजार कामदारका लागि लोटरी खोल्न लागिएको हो ।