आज यी प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको र त्यसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
साथै अहिले बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।
यसैगरी, आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध समेत गरेको छ ।
