पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोपथ बन्द

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०९:३२
file photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पहिरोका कारण बन्द भएको छ । पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण कान्तिलोकपथ सडकखण्ड अन्तरगत विभिन्न ६ स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको हो । गएराति १२ः४५ बजेको समयमा भीमफेदी–८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, बकैया–११ आले गाँउ, खोरभन्ज्याङस्थित सडकमा माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा बन्द भएको हो ।

पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको र बाटो सञ्चालनमा ल्याउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध बनेको भैंसे–भीमफेदी–काठमाडौं सडकखण्ड संचालनमा आएको छ । गएराति ११ः५० बजेको समयमा भीमफेदी–४ रातोमाटेमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध बनेको उक्त बाटोमा पहिरो पन्छाई बिहान साढे ७ बजेदेखि यातायात संचालनमा ल्याएको हो ।