मनसुनी विपदबाट मृत्यु भएकाहरुको परिवारलाई दुई लाखका दरले राहत
काठमाडौँ । मनसुनी विपदमा परेर ज्यान गुमाएका परिवारलाई दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रकम निकासा गरिएको छ ।
६९ जनाको परिवारका लागि १ करोड ३८ लाख रुपैयाँ निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म १ सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।
मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए ।
